प्रधान न्यायाधीश कल्याण श्रेष्ठले महिलाविरुद्ध पुरुष उभिए आत्मघाती काम हुने बताउनुभएको छ ।
लैङ्गिक समानताका लागि पुरुष सहभागिता सञ्जालले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय बृहत् भेला तथा साधारणसभामा’ उहाँले सो कुरा बताउनुभएको हो ।
“दयाको पात्र होइन महिला, शक्तिको माता हो, महिलाको विरुद्धमा पुरुष उभिए, आत्मघाती काम हो” – प्रधान न्यायाधीश श्रेष्ठले भन्नुभयो । उहाँले महिला मात्र पुरुषबाट पीडित नभई महिलाबाट पुरुष पनि पीडित भएको कुरा आइरहेको तर केही अपवादका रुपमा मात्र आएको छ भन्नुभयो ।
“मेरो श्रीमती अपमानित, छोरी अपमानित भए म कहाँ सम्मानित हुन्छु, समाजमा म एक्लै जीउनै सक्दिन, त्यसकारण महिला र पुरुषमा समानता हुनुपर्छ, कुनै प्रकारको विभेद हुनुहुँदैन” – उहाँले जोड्नुभयो ।
प्रधान न्यायाधीश श्रेष्ठले नेपालको नयाँ संविधान कार्यान्वयन हुनसकेमा निकै प्रगतिशील मौलिक हकहरुको सूची भएको हुनाले कार्यान्वयन भएमा अत्यन्तै महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
भेदभावको कुरा गर्दा सांस्कृतिक रुपमा सोच, संस्कार र व्यवहार महत्वपूर्ण रहेको भन्दै उहाँले सोच बदल्न व्यवहार पनि बदल्नुपर्नेमा जोड दिनुभयो ।
बन्द, हडताल, द्वन्द्व, युद्ध, प्राकृतिक प्रकोपजस्ता कुराहरुले महिलालाई बढी प्रभाव पारिरहेको आफूले पाएको भन्दै प्रधान न्यायाधीश श्रेष्ठले हृदयदेखि नै एकअर्काको सम्मान र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हिंसा विश्वभर नै भएको र कहीँ कम र कहीँ बढी मात्र भएको भन्दै उहाँले भेदभावको सोच समाजमा सांस्कृतिक रुपमै जरो गाडेर बसेको हुनाले हिंसा जन्माउने सोचको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला अधिकारकर्मी शर्मिला कार्कीले समाजमा महिला हिंसाको न्यूनीकरण गर्नका लागि भेदभावको सोच नै बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सञ्जालका अध्यक्ष कपिल काफ्लेले भेदभावमुक्त समाज निर्माणका लागि लैङ्गिक समानता हुनुपर्ने र सामाजिक रुपमा रहेका सांस्कृतिक प्रचलनहरुलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । रासस (श्रव्य सामग्री उपलब्ध छ)
Post a Comment