सरकारले घुमफिर बर्ष ०७३ घोषणा गरेपछि कुनै न कुनै पर्यटकीय स्थानमा घुमेर देखाइदिने योजना थियो, त्यसैले म लामो दुरीको पदयात्रामा निस्कन चाहन्थें । तर, यात्राको अन्तिम बिन्दु ध्यान शिविर जस्तो होस् भन्ने चाहन्थें म, जहाँ पलेटी कसेर आफ्नो जीवनको कमजोर अनि गलत पक्षलाई ध्यान दिन सकूँ ।
भयो पनि त्यस्तै । खप्तड बाबाको कुटीमा पुगेर मैले संसारलाई भुल्ने कोसिस गरें । अनि मनमनै प्राथना गरें-“मेरी प्रिय खप्तड,मेरी स्वर्ग, म खच्चड झैं थकाई नमानेर प्रेमको भारी बोक्छु तिम्रा लागि । स्वीकार्य छ मेरी रानी ?
ओरालो बाटोमा हिँड्दा घुँडा खुम्चिएर अति दुख्छ । उकालोमा तिघ्रामा प्रेसर पर्छ अनि कुर्कुच्चा खस्ला भने जस्तै हुन्छ । यद्यपि तिम्रो ३५०० मिटर उचाइ उक्लेरै छाड्ने तिब्र चाहानालाई पूरा गर्न १६ बर्षे जवानी छदाँका मेरा तिनै घुँडा, तिघ्रा र कुर्कुच्चालाई एक हप्ताका लागि काजमा फिर्ता बोलाएको थिएँ मैले ।
काजमा खटिएका यी घुँडा, तिघ्रा र कुर्कुच्चा उचालेर तिमीमाथि उक्लिनु त्यति सहज थिएन । नाकले जोत्ने उकालोमा सन्तुष्टिको केवल एक परान स्वाक्कै मर्नु नि उतिसारो रमाइलो हुन्न । तर, जब जीवनभरिको सिङ्गो जोडबल लगाएर तिमीमाथि उक्लिएँ, तब मैले बक्सिस प्राप्त गरें । अनि मायाको चिनो पनि ग्रहण गरें ।
Post a Comment