0

काबुल आक्रमणमा १२ नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका अन्य नेपालीहरुको सुरक्षाबारे सबैतिर चासो र चिन्ता व्यक्त भएको छ ।
काबुल आक्रमण नेपालीलाई नै लक्षित गरेर भएको हो भने आगामी दिन अझ भयानक हुनसक्नेतर्फ सरोकारबालाहरुले सरकारको ध्यानाकर्षण गराएको छ ।
तर, सरकार अहिले नै यो निष्कर्षमा पुगेको छैन । र, अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक पनि सरकार छैन । वैधानिक भन्दा अवैधानिक बाटोबाट अफगानिस्तान जानेहरुको संख्या ठूलो रहेको अनुमान छ ।
सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांकले देखाएको छ ।
जसमध्ये ५ हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र ३ हजार ३ सय २३ म्यानपावरमार्फत संस्थागत श्रम स्वीकृतिमा गएका हुन् । यीमध्ये कति नेपाल फर्किए भन्ने जानकारी सरकारसँग छैन ।
तर, अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।
विदेशमा वैध/अवैध जुनरुपमा पुगे पनि नागरिकको सुरक्षाका विषयमा सरकार सचेत रहेको श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साल बताउँछन् ।
आइतबारको भयानक घटनापछि अफगानिस्तानमा कार्यरत थुप्रै नेपालीरु आक्रमणको त्रासमा छन् । नेपालमा रहेका उनीहरुका आफन्त र परिवारजन पनि त्रस्त छन् ।
काबुल घटनापछि मृतकको शव लिन काबुल पुगेको विमानमा २४ जना नेपाली घर र्फकनुले अफगानिस्तानमा रहेका धेरै नेपाली घर फर्किन चहान्छन् भन्ने सन्देश दिएको छ ।
विमानमा र्फकन चाहानेलाई ल्याउने भन्ने सूचना दिएको छोटो समयमा नै २४ नेपालीले फिर्ता हुने निर्णय गरेको देखिएको छ ।
काबुलबाहेक थुप्रै शहरमा नेपालीहरु सुरक्षा गार्डसहित विभिन्न काममा छन् । ‘आउट डोर’ काम गर्नेहरु धेरै अब अफगानिस्तानबाट बाहिरिने सम्भावना छ ।

Post a Comment

 
Top