सुदूरपश्चिमको सुन्दर तथा आर्कषक पर्यटकीय गन्तव्य खप्तडमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणी पौड्यालसम्म पुगेका छन् । गंगादशहरा मेलाको अवसर पारेर शाह र पौड्याल खप्तड पुगेका हुन् ।
एरोलिना ट्राभेल्स एण्ड टुर्स र सुदूरपश्चिम पर्यटन अभियन्ता किशोर खड्काले तयार पारेको टुर प्याकेजमा पूर्व मुख्यसचिव पौड्याल आफ्नो परिवार सहित खप्तड पुगेका हुन् ।
गंगादशहरा मेलाको अवसर पारेर खप्तड हिँडेको पूर्व युवराज पारसको समूह केही दिन ढिला गरी खप्तड पुगेको थियो । मेलाको तेस्रो दिन खप्तड पुगेको पारसको समुह पोखरा, लुम्बिनी, धनगढी, डोटी हुँदै खप्तड पुगेको हो ।
पारस शाहले पोखरा र लुम्बिनीमा केही समय ब्यतित गर्दा र स्वास्थ्यका कारण डोटीको झिग्रानामा २ दिन आराम गर्नु परेकाले मेलाको समयमा खप्तड पुग्न नसकेको राष्ट्रिय सरोकार मञ्चका अध्यक्ष सोम बिक्रम सिंहले बताए । पूर्व युवराज पारस शाहसँग स्वर्गीय धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, प्रवजन बहादुर सिंह (योगि ब्यग्रनाथ), राजेन्द्र सिंह, राजेश सिंह आदी थिए ।
पौड्यालको समुह बझाङको तमैल हुँदै लामातोलाबाट खप्तड पुगेको हो । उनिहरु खप्तडमा २ रात बिताएर गंगादशहरा मेला र खप्तडको बिबिध सौन्दर्यता अवलोकन गरी नवौं दिनका दिन काठमाडौं फिर्ता भएको पर्यटन अभियन्ता किशोर खड्काले जानकारी दिए । पारस शाह भने करिब २ हप्ता खप्तड बस्ने तयारी गरेर गएको बताइएको छ ।
Post a Comment