तपाईंले कहिल्यै टेकुबाट ५ सय मिटरभित्र छिरेर बाग्मती नदि किनार आसपासका ऐतिहासिक र पुरतात्विक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ? छैन भने अब त्यसका लागि तयार हुनुस् । अबको एकवर्षभित्रै त्यस क्षेत्रमा ‘बाग्मती सम्पदा मार्ग’ बनिसक्नेछ ।
काठमाडौं महानगरपालिकाले टेकुको बाग्मती र विष्णुमतीको दोभानदेखि थापाथलीको कालमोचन घाटसम्म करिब साढे २ किलोमिटर क्षेत्रमा हेरिटेज वाकवे अर्थात ‘सम्पदा पदमार्ग’ को निर्माण थालेको हो ।
अहिले बाटोमा ढुंगा बिछ्याउने काम सुरु भएको छ । यो काम २०१६ को अन्तिमसम्म पुरा गरिसक्ने लक्ष्य राखिएको छ । बाग्मती किनारमा हुर्किएको काठमाडौंको सभ्यता र ऐतिहासिकताको संरक्षण र प्रवर्द्धनका लागि सम्पदा मार्गको निर्माण थालेको महामनगरपलिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए ।
बाग्मतीको किनारमा बन्ने यो मार्ग धार्मिक पर्यटक, पुराना सम्पदाका पारखी, विदेशी पर्यटक र अध्ययनमा चासो राख्ने र स्वच्छ वातावरणमा हिँडडुल गर्न तथा शान्त ठाउँमा बस्न रुचाउनेहरुका लागि उत्तम विकल्पका रुपमा विकास हुनेछ ।
टेकुदेखि थापाथलीसम्मको बाग्मती नदि किनारमा पुराना सम्पदाहरुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनका लागि सम्पदा मार्गको निर्माण थालिएको हो ।
नयाँ अवधारणाको सम्पदा मार्गका बनाउन, पुराना कलाकृतिको संरक्षण गर्न र बाग्मती आसपास पैदल यात्रा गर्न योग्य बनाउनका लागि यस्तो योजना अघि सारिएको तमाङले बताए ।
‘काठमाडौंको धेरै भीडभाड हुने टेकुको ५ सय मिटर भित्र छिर्दा बाग्मती किनारमै यति धेरै पुरातात्विक महत्वका सम्पदाहरु छन्, जो हाम्रो धर्म, कला र संस्कृतिको धरोहर बनेर बसेका छन्’ तमाङले भने-‘शहरको कोलाहलबाट मुक्ति चाहानेका लागि शान्त वातावरणमा कलात्मक सम्पदाको अवलोकन गर्दै पैदल यात्रा गर्न काठमाडौंमा उत्कृष्ट विकल्प हुनेछ ।
Post a Comment