व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय विमानस्थल प्रयोग गरी अवैधानिक रुपमा तेस्रो मुलुकमा कामदार पठाउने क्रम रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिले अफगानिस्तान लगायतका प्रतिबन्धित मुलुकमा अवैधानिकरुपमा कामदार पठाउने म्यानपावर कम्पनीमाथि कारवाही गर्न पनि निर्देशन दिएको छ ।
समितिले बुधबारको बैठकमा श्रम तथा रोजगार
मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरी काबुल
घटनाको सत्य तथ्य पत्ता लगाउन तथा स्वदेश फर्कन चाहने नेपाली कामदारलाई
नेपाल आउने व्यवस्था मिलाउन निर्देशन दिएको समिति सभापति प्रभु साहले
जानकारी दिए ।
हिंसाग्रस्त मुलुक अफगानिस्तानको काबुलमा
१२ जना नेपाली सुरक्षा गार्डको मृत्यु भएपछि बुधबार समितिको बैठक बसेको
थियो । बैठकले भारतको बाटो हुँदै अवैधानिक रुपमा तेस्रो मुलुकमा कामदार
पठाउने क्रम रोक्न कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको समितिका
सभापति साहले बताए । अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा
परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको
उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिइएको छ ।
बैठकमा समितिका सदस्यहरुले वैदेशिक
रोजगारको नाममा मानव तस्करी गर्ने म्यानपावर कम्पनीहरु बन्द गर्नुपर्ने
धारणा राखेका थिए । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसकी नेतृ
सुजाता कोइरालाले जसलाई पनि म्यानपावर कम्पनी खोल्न दिएको परिणाम वैदेशिक
रोजगारीका नाममा मानव तस्करी मौलाएको भन्दै अब सरकारले नै सीमित संख्यामा
म्यानपावर चलाउनुपर्ने र निजी क्षेत्रका कम्पनी बन्द गर्नुपर्ने बताइन् ।
बैठकमा अर्का सांसद् श्यामकुमार श्रेष्ठले
काबुल घटनाबाट पाठ सिक्दै सिरिया, इराकजस्ता हिंसाग्रस्त मुलुकहरुमा रहेका
नेपाली कामदारहरुलाई स्वदेश फर्काउनका लागि तत्काल पहल गरिनुपर्ने बताए ।
म्यानपावर कम्पनीहरुले युवाहरुलाई धेरै
तलब दिलाउने प्रलोभनमा पारी अवैधानिक रुपमा अफगानिस्तान, सिरिया, इराक
लगायनतका हिंसाग्रस्त मुलुकमा पठाउने गरेका छन् । अफगानिस्तानमा मात्र
अवैधानिक रुपमा पुगेका नेपाली कामदारको संख्या १० हजारभन्दा बढी रहेको
सरकारको अनुमान छ ।
समितिको बुधबारको बैठकले काबुल आक्रमणमा
मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाजलि अर्पण गर्दै घाइतेहरुको शीघ्र
स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
उक्त आपराधिक आतकङ्कारी घटनाको भत्र्सना गर्दै बैठकले खेद प्रस्ताव पारित
गरेको छ ।
बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा
नेपाल सरकारलाई धन्यवाद दिँदै घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ
।by:onlinekhabar.com
Post a Comment